स्थानीय समाचार

शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र कृषिलाई पहिलो प्राथमिकतामा: अध्यक्ष महेश केसी

२४ जेष्ठ २०८०, बुधबार ०८:१८
शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र कृषिलाई पहिलो प्राथमिकतामा: अध्यक्ष महेश केसी

कालीकोट । देशभर १३ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । तर, बालेन साह र हर्क साम्पाङको मात्र चर्चा छ ।

कोही गुमनाम छन् भने कोही चर्चामा आउदै चाहँदैनन् । निर्वाचित स्वतन्त्र उम्मेदवारमध्ये एक हुन्, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसी । उनले गठबन्धनका उम्मेदवार डम्वरबहादुर शाही पराजित गरेका हुन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष केसीले सडकलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । आगामी पाँच वर्षमा सडक र यातायातको सुविधा पाउने प्रतिबद्धता जाहेर गर्छन् ।

लामो समय सामाजिक सेवामा तल्लीन रहेको हुँदा जनताले नगरप्रमुखमा रुचाएको उनी दाबी गर्छन् । गाउँपालिकामा नै हुर्किएर समाज बुझ्दै र सिक्दै आएका केसीले आफ्नो कार्यकालमा पालिकाभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

उनकाअनुसार कर्णालीको ग्रामीण भेग भएकोले जनताले सोचे अनुसार परिवर्तन र विकास हुन सकेको छैन । जनताले राखेकाअपेक्षा पूरा गर्नको लागि सधैँ तत्पर रहने उनको भनाइ छ ।

‘हामीले सबै जनप्रतिनिधिको माग सम्बोधन हुने निर्णय गरेका छौँ,’उनले थपे, ‘वडागत रुपमा योजना निर्माण सँगै पारित भएको छ ।’पदभार ग्रहण गरेसँगै सामाजिक सुरक्षाभत्ता घर-घरमा वितरण गर्ने निर्णय गरिएको उनले पालिका खबरलाई सुनाए । ‘हाम्रो निर्णय अनुसार घर-घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएका छौँ,’उनले भने ।

उनले पालिकामा सडकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । ‘यहाँ वडागत रुपमा सडकको विस्तार हुन सकेको छैन, सडकको अभावले गर्दा बजारीकरणमा समस्या छ,’उनले भने, ‘सडकको सुविधा भएमा स्थानीयबासिन्दाले ठूलो राहत पाउने छन् ।’

गाउँपालिकाभित्र स्याउ, सुन्तलासँगै अन्य कृषिजन्य सामग्री उत्पादन गरिन्छ । उत्पादनको हिसावले राम्रो भए पनि परम्परागत खेती र सडक नभएको हुँदा कृषिजन्य सामग्रीको बजार नभएको बाध्यता सुनाए ।

प्रतिक्रिया दिनुहोस्