२८ वैशाख, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि बुधबार साँझ कांग्रेस पदाधिकारी बैठक बसेको छ ।
पार्टीका केही नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि कांग्रेस आन्तरिक छलफलमा छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नै पदाधिकारी बैठक बोलाएका थिए।
खाण पक्राउ परेपछि बुधबार पनि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसेको थियो। बैठकमा प्रहरी हिरासतमा रहेका केन्द्रीय सदस्य खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुईथरी धारणा आएपछि आज पुन: बैठक बस्ने गरी स्थगित भएको थियो। आजको बैठकमा पूर्व पदाधिकारीसमेत बोलाइएको छ।
शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमालेले उनलाई निलम्बन गरेको छ। खाणलाई पनि निलम्बन गरेर अनुसन्धान सघाउनु पर्ने दबाब पार्टीभित्र र बाहिर रहेको छ। खाणसँगै उनकी पत्नी एव् सांसद मञ्जु लगायतका कांग्रेसका अन्य सांसदसमेत भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा संलग्न रहेको अडियो बाहिरिएका छन्। उक्त विषयमा पनि छलफल हुने बताइएको छ।