२६ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्त पक्राउ गर्न चौतर्फी दवाव भइरहेका बेला प्रमुख राजनीतिक दलका शिर्ष नेताबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
करिब एक घण्टाको भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्तका सम्बन्धमा छलफल भएको थियो । बैठकमा बजेटका सम्बन्धनमा पनि छलफल भएको थियो । बैठक सकिएर देउवा र ओली बालुवाटारबाट बाहिरिसकेका छन् ।
पूर्वगृहमन्त्री खाणले घटनाको अनुसन्धानका क्रममा बयान समेत दिइसकेका छन् । तर, उनलाई प्रहरीले पक्राउ भने गरेको छैन । घटनामा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनीविरुद्ध पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिसकेको छ ।
यसैगरी प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने क्रममा केहीलाई पक्राउ गरिसकेको छ भने एमाले, कांग्रेस र माओवादीका नेता तथा उनीहरुका श्रीमती, छोराहरु पछिल्लो समयमा मुछिएपछि राजनीति वृत तरंगित बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले गठबन्धनमा आवद्धलाई मुद्दा नचलाउने, पक्राउ पुर्जी जारी नगर्ने तर एमालेलाई विवादमा तान्न पक्राउ पुर्जी जारी गरेको आरोप लगाउँदै आएका छन्। उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छलफल हुने बताइएको छ।
पछिल्लो समय संसदमा समेत यो विषयले प्राथमिकता पाएका छन्। सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, क्यान्टोनमेन्ट घोटाला, यति ओम्नि काण्ड, वाइडबडी लगायतका मुद्दाको छिनोफानो हुनुपर्ने तर्क गर्दै आएका छन्।