समाचार

गौतमबुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२२ बैशाख २०८०, शुक्रबार १६:२८
गौतमबुद्ध विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२२ वैशाख, काठमाडौं। उद्योग वाणिज्य सङ्घ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।

२५६७ औँ बुद्धपूर्णिमा एवं लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्न हेलिकप्टरमार्फत् लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डलाई सङ्घका पदाधिकारीहरूले लुम्बिनीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको सुरुआत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्सहरू आकर्षित नहुने भएकोले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा दिल्ली, भैरहवा मलेसिया, भैरहवा कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीसँग माग गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुनेमध्ये कम्तीमा २५ प्रतिशत अन्तर्राष्ट्रिय विमानहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने व्यवस्था मिलाउन माग गरिएको छ।

ज्ञापनपत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट १ वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने र विमानस्थलमा जडान गरिएका विद्युतीय उपकरणहरू शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्