२२ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै जनभावना र जनमतको कदर गर्दै समर्थन फिर्ता लिएको बताए । यस पटकको उपनिर्वाचनले दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने रहेको उनको भनाइ छ । सभापति लामिछानेले अबका दिनमा पार्टीको सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्षका रूपमा काम गर्ने प्रस्ट पारे ।
‘गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ,’ उनले भने ।
उनले प्रदेश संरचना नेता÷कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ ।
सभापति लामिछानेले वर्तमान सरकारले नक्कली शरणार्थी काण्डमा सङ्लग्न व्यक्तिलगायत भ्रष्टाचारमा सङ्लग्न व्यक्तिलाई कारबाही गरेकोप्रति धन्यवाद व्यक्त गर्दै भ्रष्टाचारका मुद्दामा सङ्लग्न अन्य व्यक्तिलाई कारबाहीका लागि आग्रह गरे ।
पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनको भनाइ छ ।