समाचार

उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

२२ बैशाख २०८०, शुक्रबार १६:१४
उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

२२ वैशाख, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन् ।

चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए ।

उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उनले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए । लगानी र व्यावसायिक हिसाबले सस्तो र सहज हुने भएकाले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताए । लगानी गर्न तयार रहनुस् वातावरण बनाउने काम सरकारले गर्छ ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आतिनुपर्ने अवस्था छैन ।” सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए ।

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिहंले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको भन्दै यसलाई उकास्नु सबैको जिम्मेवारी रहेको बताए । उद्योगी विदेश पलायन हुने स्थितिबाट सरकारले जागाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले उद्योग गर्ने वातावरण सरकारले बनाइदिन आग्रह गरेका छन् । उद्यमशीलता आफैँमा सहज छैन । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले चितवनको उद्योग र उद्योगीको अवस्थाका बारेमा जानकारी गराए ।

उनले यही अवस्था रहेमा उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुग्ने बताए । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायतका १० विदेशी कम्पनीले सहभागिता जनाएका छन् ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० स्टल रहेका छन् । औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिएको छ ।

आधुनिक प्रविधिको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि रु दुई करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्