२१ वैशाख, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उनले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताए ।
उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गरे । ‘मैले यहाँ चार्जिङ स्टेसनको पूर्वाधार पनि बन्दै गरेको सुनें,’ उनले भने, ‘विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।’
नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । ‘पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न मापदण्ड बनाउनुपर्छ,’ उनले भने, ‘चार्जिङ स्टेसन राख्दा निमगले के सहयोग गर्नुपर्छ, त्यसका लागि तयार छ ।’
नेपाल विद्युत् प्राधिकरणका इन्जिनीयर सागर ज्ञवालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गरे ।
‘केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ,’ उनले भने, ‘यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।’