समाचार

एमाले सांसद कोइरीको पद गयो

१९ बैशाख २०८०, मंगलवार १६:२८
एमाले सांसद कोइरीको पद गयो

१९ वैशाख, काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त भएको भन्दै पुनः दोस्रोपटक पत्राचार गरेपछि मंगलबार सभामुख घिमिरेले सांसद पदबाट निलम्बन गरेका छन् । कोइरी गएको ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट महोत्तरी–१ बाट सांसद बनेका थिए ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन् । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका कोइरी लामो समय संसद्‌मा अनुपस्थित छन्। गत वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो।

घटना

महोत्तरी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीविरुद्ध सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ।

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो। उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्