१७ वैशाख, काठमाडौँ। कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा त्यसबाट हुने मृत्युदर घटाउन पैरवी गर्ने बताएका छन् ।
भारतमा साढे दुई महिना उपचारपछि स्वदेश फर्किएका भण्डारीले विज्ञप्ति जारी गरी आगलागीका घटना न्यूनीकरण गर्न र मृत्युदर कम गर्न पैरवी गर्ने संकल्प गरेको जनाएका हुन् ।
बाँच्छु भन्ने आशा पलाएपछि आफूले सो संकल्प गरेको उल्लेख गर्दै भण्डारीले अबको आफ्नो अभियान ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भन्ने रहेको बताए ।
‘संघीय सांसदका हैसियतमा यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि म सदैव लागिपर्नेछु । आगलागीका घटनाहरू न्यूनीकरण गर्ने र त्यस्ता घटना भइहाले दुर्घटनामा परेका नागरिकको शीघ्र उपचारको व्यवस्थाका लागि लागिपर्ने मेरो जीवनको उद्देश्य हुनेछ, उनले भनेका छन्, ‘यसका लागि म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गर्न तयार छु ।’