खेलकुद

कुवेतविरुद्ध ब्याटिङमा नेपाल

१६ बैशाख २०८०, शनिबार ०३:५०
कुवेतविरुद्ध ब्याटिङमा नेपाल

१६ वैशाख, काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि कुवेतका कप्तान मोहम्मद अस्लमले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल आएको नेपाल आज कुवेतविरुद्ध मैदान उत्रिदा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाविरुद्धको तेस्रो खेल भने वर्षाका कारण नतिजाविहिन बनेको थियो । समूह चरणको चौथो खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्