११ वैशाख, काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहरमैला नउठेको बिषय सर्वोच्च अदालतमा प्रवेश पाउनु र अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि भएको बताएका छन् ।
सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले संघीय सरकारलाई घचघच्याएका हुन्। मेयर बालेनले भनेका छन्, ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ।
निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ। काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयकारुपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौँ।
उनले बागमती, बिष्णुमती र मनोहरा तथा सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश,स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्चको आदेश सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको स्मरण गराए ।