खेलकुद

यु–१६राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुआत

१० बैशाख २०८०, आईतवार १५:४९
यु–१६राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुआत

१० वैशाख, धनगढी। धनगढीमा आजदेखि सुरु भएको ‘एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री, १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।

कप्तान नरेन भट्टको कप्तानीमा रहेको सुदूरपश्चिमले स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रन बनाएर अविजित रहे ।

सुदूरपश्चिमका लागि रीतिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२/१२ रन तथा युवराज खत्रीले ११ रन बनाए । कर्णाली प्रदेशका लागि दीप पौडेल र आदित्य विक्रम शाहले तीन÷तीन विकेट लिए । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली प्रदेशले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो ।

उसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीले दोहोरो रनको अङ्क बनाउन सकेनन् । सुदूरपश्चिमका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन÷तीन विकेट लिए । विक्रम साउँदले एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट ‘म्यान अफ दी म्याच’ घोषित भई रु दुई हजारसहित ट्रफीबाट पुरस्कृत भए । प्रतियोगिताअन्तर्गत सोमबार लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच तथा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार दिइने आयोजकले जनाएको छ । ‘म्यान अफ दी सिरिज’ले रु १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु १० हजार तथा ‘प्लेयर अफ दी म्याच’ले रु दुई हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्