समाचार

चितवन, बारा र तनहुँमा उपनिर्वाचनका लागि मतदान सुरु

१० बैशाख २०८०, आईतवार ०३:०३
चितवन, बारा र तनहुँमा उपनिर्वाचनका लागि मतदान सुरु

१० वैशाख, काठमाडौँ । उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका लागि आज उपनिर्वाचन भइरहेको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ।

चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिनुभएको छन् भने नेकपा एमालेबाट रामप्रसाद न्यौपाने तथा नेपाली काँग्रेसबाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन्। ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द्र भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल लगायत प्रतिस्पर्धामा छन्।

तनहुँ क्षेत्र नं १ अन्तर्गतका १५२  मतदान केन्द्र छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए। निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरेका छन्।

यस्तै, बारा २ मा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोतम पौडेलबिच मुख्य प्रतिस्पर्धा हुनेछ। यादवलाई गठबन्धनको साथ छ।

बारा २ मा ८२ मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। ८२ मध्ये ६५ मतदानस्थल उच्च जोखिममा तथा १७ वटा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्