९ वैशाख, काठमाडौँ । जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् ।
सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले रक्तदान गरेका मण्डलका प्रमुख बेचु रजकले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो (महासेठ), जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पनि रक्तदाताको हौसलाका लागि सहभागिता जनाए ।
सो अवरसमा सांसद महतोले रक्तदान मानव कल्याणको सबैभन्दा उत्तम कार्य भएकाले यस्तो कार्यका लागि उत्प्रेरित गर्ने सन्त निरंकारी मण्डल र रक्तदातालाई धन्यवाद दिए । उपमहानगर प्रमुख साहले पनि रक्तदान जीवन दान भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था निर्माणका लागि यस्तो पुण्यकार्यमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
यसअघि कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले मानवतालाई जीवन्त राख्न र रगत अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था आउन नदिन सामाजिक उत्तरदायित्वको भावनाअनुरुप रक्तदान गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो । उनले कुनै पनि धार्मिक तथा आध्यात्मिक संस्थाले संविधानको अधिनमा रही मानव कल्याण, सामाजिक सद्भाव, आपसी एकतालाई मजबुत बनाउन लाग्नुपर्ने भन्दै सन्त निरंकारी मण्डलले यस्तो कार्यमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेका छन्।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाले सहयोग गरेको थियो । सन्त निरंकारी मण्डलले सद्गुरु गुरुवचन सिंहको हत्या भएको दिन अर्थात् (२४ अप्रिल १९८०) लाई मानव एकता दिवसका रुपमा मनाउँदै आएको छ ।
सोही दिनको सम्झनामा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’, ‘हामी बदला होइन, बदलाब चाहन्छाँै’ भन्दै हरेक वर्ष मण्डलले रक्तदानलगायत समाज कल्याणका काम गर्दै आएको त्यस अवसरमा जानकारी दिइएको थियो ।