५ वैशाख काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को डाकेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच व्यापक छलफल भएको छ । संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।’
सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको शीर्ष तीन दलका नेता र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदको बैठक बोलाउने सहमति जुटेको हो ।
बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे उनको निवास बालकोट पुगेका थिए । संवैधानिक बैठकपछि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।