५ वैशाख काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।
आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न रिटमा माग गरिएको छ।
निवेदनमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावरण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।’