समाचार

प्रधानन्यायाधीश नियुक्त गर्न बारको माग

२९ चैत्र २०७९, बुधबार ०९:१०
प्रधानन्यायाधीश नियुक्त गर्न बारको माग

२९ चैत, काठमाडौं । नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

 नेपाल बार एसोसिएसले बुधबार पत्रकार सम्मेलन गरी प्रधान्यायाधीश नियुक्तिका लागि दबाबमुलक कार्यक्रम गर्ने जनाएको छ ।  बार अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको ठहर बारले गरेको बताए । उनले भने, ‘न्यायालयमा भन्द्रगोल हुँदा बारले टुलुटुलु हेरेर बस्न सक्दैन ।  प्रधानन्यायाधीश तुरुन्त नियुक्त होस् भन्ने पहिलो माग हो ।’

बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं । तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ । ७–१० दिनभित्र निकास माग्छौं । नभए आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने हुनसक्छ ।’

घिमिरेले न्याय किनबेच हुन लागेको समेत आरोप लगाए । उनले भने, ‘न्याय किनबेच हुन थाल्यो । विकृतिबिहीन न्यायपालिका बनाउन आन्दोलनमा छौँ । न्यायालय सुधारको प्रतिवेदन कार्यान्वयन गरियोस् ।’

सर्वोच्च बारका  अध्यक्ष हरिशंकर निरौलाले आन्दोलनको तयारी भइरहेको भन्दै यो आन्दोलनभन्दा पहिलाको दबाबको कार्यक्रम भएको बताए । उनले पनि तुरुन्त प्रधानन्यायाधीश नियुक्त हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्