२८ चैत, काठमाडौँ । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा सरकारले तोकेको भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ ।
महानगरपालिकाको वडा नं १ र २ पर्ने समिट हाईटमा १८ रोपनी क्षेत्रफलमा सो अपार्टमेन्ट बनाउन लागिएको हो।अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खन्दा वरपरका घरहरू भासिएपछि मापदण्ड उल्लंघन गरिएको तथ्य बाहिर आएको थियो।
अपार्टमेन्ट निर्माणको जग खन्दा वरपरका एउटा एउटा घर पूर्ण रूपमा ढलेका थिए भने चारवटा घर चर्किएका छन्। जसका कारण सम्बन्धित घर परिवारको उठीबास भएको छ।
मापदण्ड बिना अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल) लाई हदैसम्मको कानुनी कारबाही गर्न स्थानीयबासी, वडा, महानगरपालिका, संघीय सांसद् सबैतिरबाट आवाज उठेको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समेत यो चर्चाको विषय बनेको थियो।
यो अपार्टमेन्ट नेपालका अर्बपति एवं चौधरी समूहका अध्यक्ष विनोद चौधरीको स्वामित्वमा रहेको जग्गामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा बन्न लागेको हो। याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।