समाचार

ढाका कुमारको सचिवालय भन्छ– ‘अडियो सम्पादन गरेर षड्यन्त्र गरियो’

२७ चैत्र २०७९, सोमबार ०२:२९
ढाका कुमारको सचिवालय भन्छ– ‘अडियो सम्पादन गरेर षड्यन्त्र गरियो’

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले सार्वजनिक अडियो आफ्नो नभएको दाबी गरेका छन् ।

उनले आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् । ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरेको हो ।

आइतबार रास्वपाले उनीमाथि लागेको आरोपबारे गम्भीर छानबिन हुने र छानबिन नसकिँदासम्म उनलाई निलम्बनमा राखेको जनाएको थियो । त्यसपछि उनको सचिवालयले एक विज्ञप्ति जारी गरी बचाउ गरेको हो ।

विज्ञप्तिमा उल्लेख भए अनुसार डा. श्रेष्ठको आवाज सम्पादन गरी नियोजित रुपमा उनीविरुद्ध षडयन्त्र गरिएको छ । साथै निज श्रेष्ठलाई पार्टीले मन्त्री बनाउने कुरा नै नउठेको र नियोजित रुपले उनको इज्जत, मान, मर्यादा र राजनीतिक भविष्य नै गिराउने उद्देश्यले यस्तो गरिएको विज्ञप्तीमा जनाइएको छ ।

‘सो आवाज सम्पादन (इडिट) गरी नियोजितरूपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढ्नेसमेत श्रेष्ठको सचिवालयले जनाएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिकपछि रास्वपाले उनलाई निलम्बित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्