समाचार

ओलीको टिप्पणी– प्रचण्डले कमिटमेन्टको वर्षा मात्रै गर्छन्

२५ चैत्र २०७९, शनिबार १३:०१
ओलीको टिप्पणी– प्रचण्डले कमिटमेन्टको वर्षा मात्रै गर्छन्

२५ चैत, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रसन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउनुपर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्रीले भने राम्रो छ भनेर बसिरहेको बताए ।

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराए ।

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढ्न सरकारलाई सुझाब दिए । एकाध सहकारी देखाएर विरोध गर्नेभन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताए । उनले अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने पनि पटकपटक दोहोर्‍याए । उनले आर्थिक संकटको बेला सहकारीको विरोध गर्न नहुने तर्कसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्