२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् ।
महानगरभित्र रहेका १९ वटा प्रहरी बिटको ठेगाना र तस्बिर सार्वजनिक गर्दै उनले ती बिट हटाउन प्रहरीलाई आग्रह गरेका छन्। अन्यथा, समतामुलक कानुनको प्रयोगको लागि पनि महानगर ती संरचना हटाउन बाध्य हुने चेतावनी दिएका छन्।
उनले फुटपाथ मान्छे हिंड्नको लागि प्रयोग गर्नुपर्ने भएर नै त्यहाँका व्यापारमा रोक लगाएको उल्लेख गर्दै भने, ‘फुटपाथ सँधै मान्छे हिंड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’
मेयर बालेका अनुसार काठमाडौं महानगरभित्र प्रधानमन्त्री निवास अगाडि, सामाखुशी, जडिबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी, ढल्को, ताम्सीपाखा, रुद्रमतिमार्ग मैतीदेवी, असनचोक, न्यूरोड पिपलबोट, चिकमंगल, धोबीचौर, बानेश्वर देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ अगाडि र माछापोखरीमा फुटपाथमै प्रहरी बिट छन्।
राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि आफूहरुले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उनले उल्लेख गरेका छन्।
फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’ बालेनले भनेका छन् ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।’
बालेन शाहले सार्वजनिक गरेका सडक मिचेर बनाइएका काठमाडौँका प्रहरी बिटहरू