समाचार

लो–घेकर दामोदरकुण्डका सबै वडाका भवन निर्माण

२३ मंसिर २०७८, बिहीबार ००:५१
लो–घेकर दामोदरकुण्डका सबै वडाका भवन निर्माण

मुस्ताङ: मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ । पाँचवटै वडाका कार्यालय भवन निर्माण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिनुभयो । “यही मङ्सिर २० र २१ गते पाँचवटै वडा कार्यालयका भवन उद्घाटन गरेर औपचारिक रुपमा प्रयोगमा ल्याएका छौँ ।

वडा नम्बर १ को चराङ, २ को घमी, ३ को घिलिङ, ४ को सुर्खाङ र ५ को ताङग्यामा भवन निर्माण गरिएका छन् । वडा नं १ को भवन जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्यामो गुरुङले र अन्य भवन गाउँपालिका अध्यक्ष विष्टले उद्घाटन गरेको छन् ।

गाउँपालिका अध्यक्ष विष्टका अनुसार उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०७५÷७६ मा सुरु भएका वडा कार्यालयका भवन निर्माण यसै आवमा सकिएका हुन् । एकै किसिमको डिजाइन भएका एकतले सबै भवनमा छ/छ कोठा छन् ।

स्थानीय डिजाइन र निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको भवन निर्माण गरिएको हो । भवनमा वडा अध्यक्ष, सचिव, सदस्य तथा बैठक कक्ष र सभाहल छन् । एक वडा कार्यालय भवन बनाउन रु ५० लाख देखि रु ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष विष्टले बताए ।

प्रतिकूल मौसमका कारण हिउँदमा काम गर्न नसकिने र कोरोना भाइरसको महामारीका कारण भवन निर्माणलाई प्रभावित बनाएको थियो । भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्यचौकीबाट कार्यालय सञ्चालन गरिएको थियो ।

भवन बनेपछि सेवा प्रवाह र कार्यालय सञ्चालन गर्न सहज भएको चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताउनुभयो । चराङमा निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनको काम ६० प्रतिशत सकिएको छ ।

इमोटल कन्ट्रक्सन प्रालिले रु चार करोड २४ लाख ५८ हजारमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो । तीन रोपनी जग्गामा निर्माण भइरहेको तीनतले भवन चालु आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर सन्देश केसीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्