२२ चैत, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएका छन्।
नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिएका हुन्।
“हिजो चलचित्रको सङ्ख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको सङ्ख्या बढाउनु महत्त्वपूर्ण नै हुन्थ्यो”, उनले भने, “तर अब छायाङ्कनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ।”
नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।