२१ चैत, काठमाडौं। आगामी वैशाख १० गते हुने चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यको अनुसार उम्मेद्वारी दर्ता गर्नेहरुमध्ये १२ जना राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् भने १२ जना स्वतन्त्र ब्यक्तिहरु रहेका छन् ।
२४ जना उम्मेदवार मध्ये २ जना महिला रहेको आचार्यले बताए । निर्वाचन कार्यक्रम अन्र्तगत २१ गते दाबी विरोधको लागि समय दिईएको छ भने २३ गते उम्मेदवारलाई चुनावचिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन २ मा २४ जना, तनहुँ १ मा नौ र बारा २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उक्त क्षेत्रमा रास्वपा, कांग्रेस र एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगाएतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।