२० चैत, काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौं आइपुगेका छन्।
इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौं आइपुगेका हुन्।
फाउण्डेसनका अनुसार गायनतर्फको ‘साइटलेस अडिसन’ आइतबार सुरु भएको छ। गायनतर्फ १४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको छ।
अमेरिका र क्यानडाको फिल्ड अडिसन अमेरिका, युरोपको बेल्जियम, मध्यपूर्वको दुवइ, पूर्वी एसियाको बैंकक, अष्ट्रेलियाको सिड्नी र भारतको सिलिगुडीमा अन्तर्राष्ट्रिय फिल्ड अडिसन सम्पन्न भएको थियो। नेपालका बुटवल, नेपालगञ्ज, दमक र काठमाडौंमा फिल्ड अडिसन भई प्रतिभा छनोट गरिएका थिए।
गायनतर्फ अमेरिका र क्यानडाबाट १५, युरोपबाट पाँच, अष्ट्रेलियाबाट सात, पूर्वी एसियाको थाइल्याण्ड, फिजी, म्यानमारलगायतबाट आठ, मध्यपूर्वका खाडी मुलुकबाट सात, भारतबाट ३३ तथा नेपालका नेपालगञ्जबाट सात, बुटवलबाट नौ, दमकबाट २१ र काठमाडौंबाट २८ जना प्रतिभा साइटलेस अडिसनका लागि काठमाडौं आइपुगेका छन्।
करिब यतिकै सङ्ख्यामा नृत्यका प्रतिभा पनि ती देशबाट काठमाडौं आएका छन्। उनीहरुलाई काठमाडौँका विभिन्न होटलमा राखिएको फाउण्डेसनले जनाएको छ। संसारभरका विभिन्न देश पुगेर त्यहाँका नेपाली प्रतिभालाई पहिचान गरी नेपाली गीत र नृत्यको प्रतिस्पर्धामार्फत उत्कृष्ट प्रतिभाको छनोट गर्ने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रमले नेपालीभाषी समुदायलाई आफ्नै संस्कृतिको एक सूत्रमा बाँध्ने प्रयास गरेको फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए।
नेपाली मूलका भुटानी अमेरिकन युवा व्यवसायीले नेपाली भाषा र संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’का लागि प्रख्यात गायक दीप श्रेष्ठलाई निर्णायक नियुक्त गरेको छ। श्रेष्ठसँगै सङ्गीतकार सुरेश अधिकारी, गायक शिव परियार, पुष्पन प्रधान र गायिका अन्जु पन्त र सुजाता बर्मा निर्णायक छन्।
त्यसैगरी नृत्यतर्फ मिथिला शर्मा, शंकर बीसी, नायक दिलीप रायमाझी, नायिका केकी अधिकारी र प्रियंका कार्की, नरमान राई निर्णायक अनुबन्धित भएका छन्। फिल्ड अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीबाट आइतबारदेखि सुरु भएको साइटलेस अडिसनले ५० जनाको छनोट गर्ने जानकारी अध्यक्ष अधिकारीले जानकारी दिए।
गायक श्रेष्ठसहितका गायन र नृत्यका निर्णायकलाई नियुक्ति गर्ने कार्यक्रममा अध्यक्ष अधिकारीले संसारभरका नेपाली प्रतिभालाई पहिचान गरी पितृभूमि नेपालमा ल्याएर प्रतिस्पर्धाको अवसर दिन पाएकोमा गर्वको अनुभूति भएको बताउनुभयो। उहाँले निर्णायकबाट निष्पक्षरुपमा निर्णय हुनेमा आफू विश्वस्त रहेको बताए।
वरिष्ठ गायक दीप श्रेष्ठ तथा फाउण्डेसनका नेपाल अध्यक्ष दिलीप रायमाझीले निर्णायकलाई अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। यस कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन्।
गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले एक करोड, दोस्रो हुनेले ३० लाख र तेस्रोले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै सामूहिक नृत्यमा पनि अलग्गै पुरस्कारको व्यवस्था छ। प्रतिभाको छनोट निष्पक्षरूपमा होस् भनेर यो अडिसनमा निर्णायकले प्रतिस्पर्धीलाई देख्न नपाउने र प्रतिस्पर्धीले पनि छनोटमा नपरेसम्म निर्णायकलाई देख्न नसक्ने गरी डिजाइन गरिएको छ।
प्रतिस्पर्धाका मेरो भ्वाइस युनिभर्स कार्यक्रम नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट र मेरो डान्स युनिभर्स एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण हुने आयोजक संस्थाले जनाएको छ।