१८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूले मन्त्री नबन्ने घोषणा गरेको तर उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको बताएका छन्।
शुक्रबार उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले शनिबार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी सञ्चारकर्मीसँगको कुराकानीमा ‘मन्त्री मात्र बन्दिनँ’ भनेको स्पष्ट पारेका हुन् ।
शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर उपप्रधान एवं रक्षा मन्त्रीसमेत रहेका खड्काले आफूले मन्त्री मात्रै नबन्ने भनेको स्पष्टीकरण दिए।
‘अहिले सामाजिक संजालमा मन्त्री खान्न भन्नुभयो तर मन्त्री बन्नुभयो भनेर आइरहेको छ’, खड्काले भने, ‘मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ? मैले मन्त्री बन्दिनँ भनेको हो। यदि उपप्रधानन्त्री बिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ।’
अहिले आफू मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा शुभचिन्तक र टिप्पणीकर्तालाई स्पष्ट पार्न चाहेको उनले उल्लेख गरे। आफू वचनबाट दायाँबायाँ नभएको पनि उनले जिकिर गरेका छन् । आफू धेरै पटक मन्त्री बनिसकेको भन्दै अहिले मन्त्री नबन्ने घोषणा गरेको खड्काले स्मरण गरे।