समाचार

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

१८ चैत्र २०७९, शनिबार ०८:१३
नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रुपमा विकास गर्न सकिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।

प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु। खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु। खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै महत्व दिएको हुँ।’

‘संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ। तर त्यसअनुसार संघीय ऐनहरू बनिसकेका छैनन्। सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूर्णता दिनेमा छ। संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौँ’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल एकाइ र खेल मैदान बनाउनुपर्नेमा जोड दिँदै खेल पूर्वाधारको निर्माणबाट मात्रै तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने बताए।

‘पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीको वृत्तिविकासमा ध्यान दिनसकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ’, उनले भने।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्