समाचार

हावाहुरी र हिमपातको सम्भावना

१७ चैत्र २०७९, शुक्रबार ०२:३८
हावाहुरी र हिमपातको सम्भावना

१७ चैत, काठमाडौं। अहिले (शुक्रबार बिहान ७ बजे) देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली (आकाशभरि बादल) भएको छ भने गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा चाहिँ सामान्यदेखि आंशिक (आकाशमा थोरै बादल) सम्म बदलीको अवस्था छ।

‘सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने बिहानैदेखि वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

प्रतिक्रिया दिनुहोस्