१४ चैत, धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि आक्रमण प्रयास भएको छ । अछामको साँफेबगरमा एमाले कार्यकर्ताहरुले पौडेलविरुद्ध नाराबाजी गर्दै ढुंगामुढा र बोतल प्रहार गरेको बताइएको छ ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैप्रति विवाद र विरोध नगर्ने सहमति हुँदाहुँदै पनि त्यसको विपरीत कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको टिप्पणी गरोका हुन् ।
‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत हिजो साँफेबगरमा भएको कार्यक्रममा पौडेलले पार्टीका नेता डा. भीमबहादुर रावलको विरोध गरेपछि आक्रोशित कार्यकर्ताहरुले उनीमाथि ढुंगा र बोतलले प्रहार गरेका हुन् । त्यसक्रममा रावलका कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि नारा लगाएका थिए ।
उपाध्यक्ष पौडेलसहित एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट, सह–इञ्चार्ज कर्ण थापा, अध्यक्ष दामोदर भण्डारीलगायत कार्यक्रममा उपस्थित थिए । उनीहरुबीच डा. रावलका बारेमा कसैले पनि नबोल्ने सहमति भएको थियो । तर, पौडेलले त्यसविपरित मन्तव्य राखेपछि ढुंगामढा भएको हो । त्यसपछि कार्यक्रम नै बिथोलिएको बताइएको छ ।
पौडेलले पार्टीको नीति विपरीतका गतिविधि गरेको समेत रावलको दुखेसो थियो। रावलले निर्वाचनताका आफूले कसैलाई हराउन कुनै भूमिका नखेलेको स्पष्ट पार्दै आफू ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।