समाचार

प्रहरी र प्रदर्शनकारीबीच झडप, ढुंगामुढा प्रहार

१४ चैत्र २०७९, मंगलवार ०९:०७
प्रहरी र प्रदर्शनकारीबीच झडप, ढुंगामुढा प्रहार

१४ चैत, विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन्।

विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ। प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउण्ड हवाईफायर भएको छ। प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

उनीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औंला काट र पहिचानवादी एक हौं लगायतका नारा घन्काइरहेका छन्।

प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।  प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्