१४ चैत, काठमाडौँ । गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्दा जेल चलान भएका ३ जना ५ हजार धरौटी बुझाएर छुटेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए।
पक्राउ परेर जेलबाट रिहा हुनेहरुमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्ड बानेश्वरमा आयोजित एक कार्यक्रममा हुन पुगेका थिए । सोही बेला उनीहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । र, उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरि अभद्र व्यवहारको कसुरमा मुद्धा चलाएको थियो ।