समाचार

गण्डकीमा माओवादीले आज समर्थन फिर्ता लिँदै

१० चैत्र २०७९, शुक्रबार ०२:२२
गण्डकीमा माओवादीले आज समर्थन फिर्ता लिँदै

१० चैत, पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।

नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो। बिहान ११ बजे बैठक बसेर समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता एवम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए।

प्रचण्डको निर्देशनपछि यसबारे निर्णय गर्न शुक्रबार बैठक बोलाएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।

“प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एकरदुई दिनभित्रैमा त्यसको टुङ्गो लाग्ला”, उनले भने, “गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ ।”

आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ । सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन छ । साठी सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ ।

२७ सिटसहित गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार बनाउन शीर्ष नेताहरुसँग छलफलमा छन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्