समाचार

घुस लिएको प्रमाण भेटिएपछि डिभिजन वन कार्यालयका अधिकृत निलम्बित

१० चैत्र २०७९, शुक्रबार ०२:१४
घुस लिएको प्रमाण भेटिएपछि डिभिजन वन कार्यालयका अधिकृत निलम्बित

१० चैत, जनकपुरधाम। घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।

सेवाग्राहीबाट घुस लिइरहेको भिडिओ प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो।

हिरासतमा रहेको अभियुक्तका सरोकारवालासँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अञ्जना कायस्थले जानकारी दिइन्।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरूद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए। गत चैत ६ गने अभियुक्त साह पक्राउ परे।

यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए । त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्