पत्रपत्रिका

राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

२२ मंसिर २०७८, बुधबार ०१:२९
राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

२२ मंसिर, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।

‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले निर्वाचन कार्यक्रम र तालिका स्वीकृत गरेको छ । १२ माघमा राष्ट्रिय सभातर्फ रिक्त हुने पदमा निर्वाचन हुन्छ, त्यसका लागि दल दर्ता गर्नुपर्छ । आयोगले निर्वाचन प्रयोजनका लागि सबै कार्यक्रम ल्याएको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दललाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेगरी आयोगले निर्वाचन कार्यक्रम बनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्