समाचार

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगबाट हुनुपर्छ: प्रदीप पौडेल

७ चैत्र २०७९, मंगलवार ०६:५५
प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगबाट हुनुपर्छ: प्रदीप पौडेल

७ चैत्र,काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको उपस्थिति नयाँ ढंगबाट हुनुपर्ने बताएका छन्।

 उनले स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुने कांग्रेसले जनतालाई नयाँ आभाष दिलाउन सक्नुपर्ने बताए । नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार गरेको गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृतिसभामा बोल्दै नेता पौडेलले अहिलेको गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगको हुनुपर्ने बताए ।

‘गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अलिकति नयाँ ढंगबाट हुन जरुरी छ। केही गरेर देखाउन जरुरी छ,’ सांसदसमेत रहेका पौडेलले भने,’५ वर्षैसम्म हामी सरकारमा हुन सक्छौँ। तर, सरकारमा भइरहने कुराले हामीलाई अर्को पटक निर्वाचन हामीलाई जिताउने हुनुपर्छ।’

कांग्रेसले यसअघि विभिन्न गल्तीहरु गरेको स्वीकार गर्दै उनले सरकारमा सहभागी हुँदा पुराना गल्ती स्वीकार गरेर दोहोरिन नदिने प्रतिवद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए।

‘गठबन्धनको संस्कृति सरकार बनाउने सन्दर्भमा स्वाभाविक हुन सक्छ । तर, निर्वाचनको सन्दर्भमा स्वाभाविक होइन,’ उनले भने, ‘हामी उपनिर्वाचनमा जाँदै छौँ । यहाँ उम्मेदवार उठाउँदा हामीले वैचारिक क्षमता भएको, यहाँको जमिनलाई चिनेको, जमिनले माया र विश्वास गर्ने, चुनाव कसले जित्छ भन्ने कुरालाई आधार बनाएर उम्मेदवार उठाउनु उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्