६ चैत्र, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।
सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।
गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख विवादमा तानिएका थिए ।
पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलले भने, ‘सम्माननीय सभामुखज्यूले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ । यो भन्दा अगाडि एउटा दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनु भएको छ । र
, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद् र आफू पूर्ण रूपमा प्रतिबद्ध भएको जानकारी गराउनु भएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौं ।’
सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद् र आफू प्रतिबद्ध रहेको पनि बताएका थिए ।