समाचार

आज पनि पौडेल पक्ष उम्मेदवारको टुंगो लगाउन असफल

२१ मंसिर २०७८, मंगलवार १४:५१
आज पनि पौडेल पक्ष उम्मेदवारको टुंगो लगाउन असफल

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले शेरबहादुर देउवाविरुद्ध उठाउने साझा उम्मेदवार छान्न असफल भएको छ।

मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । आजै सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि भोलिसम्मको भाखा राखिएको हो ।

 त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दावी गरे ।  वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली काँग्रेसको रुपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरुले आज विभिन्न कोणबाट छलफल गर्यों  । हामी सहमतीको निकै नजिक पुगेका छौं । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ ।

मंगलबार सभापतिका आकांक्षीहरू र केन्द्रीय सदस्यबीच भएको छलफलले निर्णय निकाल्न नसकेको स्रोतले बतायो। बैठकमा सहभागीले सकेसम्म छिटो सर्वसम्मत सभापतिको उम्मेदवार छान्नेबारे छलफल केन्द्रित रहेको बताए।

कांग्रेस महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुन: आफ्नो उम्मेदवारी दोहोर्‍याउने भएका छन्। वरिष्ठ नेता पौडेलबाट प्रकाशमान सिंह, शेखर कोइराला र महामन्त्री शशांक कोइरालाले सभापतिमा दाबी गरिरहेका छन्।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसीर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्