३ चैत, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सत्ताधारी विद्यार्थी सङ्गठनहरूले विभिन्न क्याम्पस र विश्वविद्यालयहरूमा आगजनी, तोडफोड र तालाबन्दी गरेर स्ववियु निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारबाट नै विश्वविद्यालययका कर्मचारी र पदाधिकारी समेत असुरक्षित रहेको आरोप लगाएको छ।
चैत ५ र ८ गते हुन गइरहेको स्ववियुको निर्वाचनको तयारीमा जुटिरहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र सामुदायिक तथा नीजि क्याम्पसका साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण क्याम्पसहरुमा विश्वविद्यालयहरुको निर्वाचन निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न अनेरास्ववियुले अपिल गरेको छ।
‘देशका सबैभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, वाल्मीकि क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साइन्स क्याम्पस, चितवन ई कलेज लगायत आंगिक क्याम्पसहरू र अत्यधिक विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक क्याम्पसहरूमा सत्ताधारी संघ संगठनहरु अनेकौँ बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र विद्यार्थीहरूको मौलिक हक अधिकार विरुद्ध भइरहेका यस्ता गतिविधिहरूको पक्षमा नेपाल सरकार रहेको हामीलाई आभास भइरहेको छ ।’