३ चैत, काठमाडौं । राहदानी विवादमा प्रहरी र सरकारी वकिलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेका छन् ।
अमेरिकाबाट फर्किएपछि पुरानै नम्बरको दोस्रो राहदानी लिएको र त्यसको प्रयोग नभएकाले मुद्दा चलाउन नसकिने प्रहरीको अनुसन्धान प्रतिवेदनमा रहेको सरकारी वकीलको कार्यालय स्रोतले बतायो।
यसका साथै लामिछाने नेपाली नागरिकका रूपमा अमेरिका गएको र नागरिकता पुनःप्राप्ति मात्र नगरेकाले विदेशी सरह व्यवहार गर्न नमिल्ने पनि प्रहरी अनुसन्धानमा उल्लेख छ। राहदानी दुरुपयोग गरेको समेत नदेखिएकाले प्रहरीले मुद्दा चलाउन नसकिने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
‘केही घटना विवरण र कानूनी आधार हेर्दा उहाँले झुटा विवरण बुझाएर राहदानी लिएको पुष्टि हुनसक्ने देखिएन’, सरकारी वकिलको कार्यालय, काठमाडौंको स्रोतले भन्यो, ‘हामी प्रहरीको प्रतिवेदन अध्ययन गरिरहेका छौं, सम्भवतः एक÷दुई दिनमा फाइल उच्च सरकारी वकिलको कार्यालय, पाटनमा पुग्नेछ ।’
कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । यसरी हुने निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुग्छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) को रायसहितको फाइल महान्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ ।
गत माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर्याएपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका थिए। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गराउने कानूनी प्रक्रिया पूरा गरेका थिएनन्। जसका कारण सर्वोच्चले उनको नागरिकता अवैध ठहर्याएको थियो।
सर्वोच्चको फैसलापछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन्। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि बनेका छन्।गत मंसीरमा गृह मन्त्रालय हुँदै अनुसन्धानका लागि जाहेरी प्रहरी कार्यालय पुगेको थियो। तर, अनुसन्धान हुँदाहुँदै लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री बनेपछि प्रहरीले अनुसन्धान रोकेको थियो। सर्वोच्चको फैसलासँगै पदबाट बाहिरिएपछि प्रहरी अनुसन्धान फेरि अगाडि बढेको थियो। तर, लामिछानेको बदनियत नदेखिएको प्रहरी निष्कर्ष छ। यद्यपि राहदानी ऐनले झूटो विवरण दिई राहदानी लिन नहुने भनेको छ। लामिछानले निष्क्रिय नागरिकतालाई नै सक्रिय सरह प्रयोग गरेर नयाँ राहदानी लिएका थिए।