समाचार

सीके राउतसँग हारेका उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

३ चैत्र २०७९, शुक्रबार १३:४७
सीके राउतसँग हारेका उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

३ चैत्र, काठमाडौँ।  शुक्रबार उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै बारा–२ खाली भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट गएको मंसिर ४ मा बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।

गत निर्वाचनमा सप्तरी–२ मा पराजित भएपछि अब बारा-२ मा उपचुनाव लड्न अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूबीचमा समेत तालमेल मिलाइसकेका छन् ।

जसपा अध्यक्ष यादव गत ४ मंसिरको निर्वाचनमा सप्तरी- २ बाट पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यतिबेला यादवले देशी-विदेशी शक्तिको षडयन्त्रले आफूलाई निर्वाचन हराएको आरोप समेत लगाएका थिए।

बारा- २ मा उपेन्द्र यादव स्वयं भिड्ने लगभग निश्चित रहेको जसपा नेताहरुले बताएका छन्। अध्यक्ष यादवले बारा- २ बाट निर्वाचन जितेर ४ मंसिरको हारको बदला लिन चाहेको उनी निकटस्थहरुको भनाइ छ।

त्यतिबेला उपराष्ट्रपतिमा निर्वाचित यादवले नेकपा एमालेको सहयोगमा बारा २ बाट चुनाव जितेका थिए । तर, अहिले त्यो पूरानो सहयात्रा जारी छैन । आगामी निर्वाचनमा उपेन्द्र कांग्रेस र माओवादी केन्द्रसहितको दलको सहयोगमा उपनिर्वाचन लड्दैछन् ।

मधेशी जनअधिकार फोरमबाट मधेश आन्दोलन र सडक संघर्ष गरेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र तीन पटक उपप्रधानमन्त्रीसहित पटक–पटक मन्त्री बनिसकेका छन् । यद्यपि, यो अवधिमा उनलाई सत्तामा मात्र अडिएको नेता भनेर आलोचित गरियो । नभन्दै गएको निर्वाचनमा उनी भारी मतान्तरले हार्न पुगेका थिए ।

तर, त्यो हार फेरि उपनिर्वाचनमार्फत उनी जितमा बदल्न चाहेका छन् । उपेन्द्र ०४८ सालमा सुनसरी–४ बाट चुनाव लडेका थिए । ०६४ र ०७० मा सुनसरी–५ बाट चुनाव लडे । ०७४ मा निर्वाचन क्षेत्र फेर्दै डा. सिके राउतको क्षेत्र सप्तरी–२ मा गएर उम्मेदवारी दिएका उनले हार व्यहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्