समाचार

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

३ चैत्र २०७९, शुक्रबार १३:४४
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

३ चैत्र, काठमाडौँ। नेपालको तेस्रो उपराष्ट्रपतिका रूपमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उनले कुल ३० हजार ३२८ मतभार प्राप्त गरे भने उनकी निकटतम प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार पाइन्।

उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् । बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

 साथै जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन् ।नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्