२ चैत्र, काठमाडाैं । धारिलो हतियारले हानेर ६६ वर्षीय गङ्गाराम थारूको हत्या गरेर भागेर युएई पुगेका शिव शरण चौधरीलाई इन्टरपोलले पक्राउ गरेको छ।
उनीमाथि धारिलो हतियारले हानेर कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूको हत्या गरेको अभियोग छ। २०७६ साउन ७ गते थारूको हत्यापछि उनी युएई गएको खुलेपछि नेपालमा रहेको इन्टरपोल शाखाले युएइको इन्टरपोल शाखासँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो।
अनुसन्धानमा उनी युएई बसेको खुलेपछि इलाका प्रहरी कार्यालय, गोरुसिङ्गे, कपिलवस्तु मार्फत प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखामा पत्र आएको थियो। सोही पत्रको आधारमा चौधरीको नाममा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्ध जारी भएको रेड नोटिस एनसिबि अबुधाबी युएईलाई जानकारी गराएको थियो।
चौधरीलाई पक्राउ गरी सुपुर्दगी गर्न नेपालले अनुरोध गरेकोमा २०७९ भदौ २१ गते एनसिबि अबुधाबीले उनलाई पक्राउ गरी सुपुर्दगीको लागि आवश्यक कागजात मागेको थियो। कागजपत्र पठाएपछि फागुन ११ गते चौधरीलाई नेपाल सुपुर्दगी गर्न राजी हुँदै उनीहरूले नेपालको इन्टरपोलको टोलीलाई बोलाएको थियो। नेपालको टोली युएई गएर उनलाई पक्राउ गरेर नेपाल ल्यायो।