२ चैत, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ । सोही कारण उनको ट्विटर ‘अकाउन्ट ह्याक’ भएको अनुमान गरिएको छ ।
हिजो रातीसम्म आधिकारिक नियन्त्रणमा नै रहेको उक्त अकाउन्ट बिहीबार बिहानबाट नियन्त्रण बाहिर गएको हो ।अकाउन्ट ह्यान्डलको नाम उही भएपनि अहिले पनि उक्त अकाउन्ट ह्याकरको नियन्त्रणमा रहेको छ । ह्याकरले आधिकारिक ह्यान्डलबाट विभिन्न अनधिकृत पोस्टहरू शेयर गरिरहेको छ ।
विभिन्न तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि ह्याकरको प्रवेश भएको देखिएको छ।
तर, प्रधानमन्त्री कार्यालय तथा सचिवालयबाट यस बारेमा कुनै सार्वजनिक जानकारी आएको छैन। प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिम्सिनाले ट्विटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताए । उनले कार्यालय पुगेपछि मात्रै बाँकी भेरिफाई हुने बताए ।