खेलकुद

अन्तिम खेलमा आज नेपालको यूएईसँग प्रतिस्पर्धा

२ चैत्र २०७९, बिहीबार ०२:४३
अन्तिम खेलमा आज नेपालको यूएईसँग प्रतिस्पर्धा

२ चैत, काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ ।

विश्वकप लिग–२ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।

युएईसँगको हारले नेपाल चौथो स्थानमा सीमित हुनेछ । यसै कारण दुवै टोलीलाई जित नै अन्तिम विकल्प हो । त्रिविको घरेलु मैदानमा नेपालले हजारौँ समर्थकबीच युएईविरुद्ध खेल्दै छ । नेपाल लगातार छैटौँ जित निकाल्ने योजनामा छ । मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पछिल्ला ११ मध्ये १० खेल जित निकालेको नेपालको नजर जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने हुनेछ । पछिल्लो पाँचमध्ये चार भेटमा नेपालले युएईलाई हराएको छ ।

चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। त्यस्तै, पाँचौ स्थानको अमेरिकाको ३५, छैटौं स्थानमा रहेको यूएईको ३३ र अन्तिममा रहेको पपुवा न्युगिनीको ११ अंक छ।

आजको खेल जितेमा नेपाल ४० अंक जोड्दै तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायर खेल्न पाउनेछ। यूएईका लागि पनि आजको खेल महत्पूर्ण छ। आजको खेल जितेमा यूएई पनि अमेरिकासँग बराबरी गर्दै रन रेटका आधारमा पाँचौं स्थानमा उक्लिएर एकदिवसीय वरियता जोगाउने सम्भावना छ।

नेपाल र यूएईबीचका पछिल्लो पाँच खेलमा नेपाल नै बलियो देखिएको छ। पाँच खेलमा नेपालले चार खेल जितेको छ भने यूएईले एक खेल मात्रै जितेको छ।

त्यस्तै, नेपालले खेलेका पछिल्लो पाँच खेलमा लगातार जित हासिल गरेको छ। यूएईले भने पछिल्ला पाँच खेलमा एउटा खेल मात्रै जितेको छ। त्रिवि क्रिकेट मैदानमै चैत १ गते भएको खेलमा यूएईले पपुवा न्युगिनीलाई पराजित गरेको हो।

क्यानले बुधबार साँझै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन ।

प्रतिक्रिया दिनुहोस्