समाचार

उपराष्ट्रपतिमा एउटै उम्मेदवार बनाउन गठबन्धन असफल

२ चैत्र २०७९, बिहीबार ०२:२८
उपराष्ट्रपतिमा एउटै उम्मेदवार बनाउन गठबन्धन असफल

२ चैत, काठमाडौं। सत्तागठबन्धनमा रहेका दलहरू उपराष्ट्रपतिमा एक मात्रै उम्मेदवार बनाउने प्रयासमा असफल भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा सहमति जुट्न सकेन ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता बस्नेतले भने, “उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ। आज सहमति हुन सकेन। भोलि बैठक बसेर टुङ्गो लाग्छ।”

गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएका छन्। जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी उम्मेदवार छन् भने जनमतबाट ममता झा उपराष्ट्रपतिको उम्मेदवार बनेका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट एउटै उम्मेदवार बनाएर जानुपर्नेमा जोड दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एउटै उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए । तर, जनमतका अध्यक्ष सिके राउतले उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी कायमै रहने अडान लिए ।

नेपालले राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि गठबन्धनले एकताको सन्देश दिनुपर्ने बताएका थिए । ‘राष्ट्रपतिमा विभिन्न हल्ला चलेका थिए । हामीले एकताको राम्रो सन्देश दियौँ । अब उपराष्ट्रपतिको निर्वाचनमा पनि हामीले त्यस्तै सन्देश दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानमा वा भएकाले राष्ट्रपति र उपराष्ट्रपति समुदाय फरक हुनु संविधानसम्मत नै हुने बताएका थिए । ‘हाम्रो उम्मेदवारी संविधानअनुसार नै हो । केही गडबड हुन्छ कि भनेर हामीले महिला उम्मेदवार पनि अघि सारेका थियौँ । सर्वोच्चले रिट नै दरपिठ गरिसकेपछि हाम्रोतर्फबाट एकजना मात्रै उम्मेदवार कायम हुनुभएको छ । गठबन्धनमा सहमति गरेर एकताको सन्देश दिऔँ ।’

प्रतिक्रिया दिनुहोस्