समाचार

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

१ चैत्र २०७९, बुधबार ०२:२१
उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

१ चैत, काठमाडौं। चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ। मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

आयोगका अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा अगावैदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रशार निषेधको अवधि लागू हुने छ।निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।

आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यममा जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसार जस्ता काम पनि गर्न नहुने आयोगले स्पष्ट पारेको छ।

उपराष्ट्रपतिका लागि नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य (बोहरा), जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीबाट ममता झाले मनोनयन दर्ता गरेका छन्। प्रमिला कुमारीले भने आफ्नो समर्थन रामसहायप्रसादलाई रहने घोषणा गरिसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्