खेलकुद

फ्रेन्ड्स क्लब विजयी

३० फाल्गुन २०७९, मंगलवार १५:२२
फ्रेन्ड्स क्लब विजयी

३० फागुन, काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले समान एक एक गोल गरे । यता जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।

खेलको १९ औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४० औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरे पनि फ्रेन्ड्स २–१ ले विजयी भयो ।

फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो । यस जितसँगै पहिलो जित हात पारेको फ्रेन्ड्सले चार खेलमा चार अङ्क जोडेको छ । समान चार खेल खेलेको जावलाखेलको सात अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्