खेलकुद

‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही

३० फाल्गुन २०७९, मंगलवार ०३:११
‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही

३० फागुन,काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुवान्डामा मार्च १६ मा हुने फिफा कंग्रेसमा सहभागी हुन अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष बिराट जंग शाहीको नाम फिफामा पठाएको थियो ।

भिसा लगाएको छापसहितको पासपोर्ट र टिकटसाथ त्रिभुवन विमानस्थलमा पुगेका शाहीको होसहवास त्यति वेला उड्यो, जुन वेला उनले टर्किस एयरको टिकटअनुसार चेक इन काउन्टरमा आफ्नो नामै पाएनन् । एन्फाले फिफा कंग्रेसमा भाग लिन शाहीको स्थानमा केन्द्रीय सदस्य मणिराज विष्टलाई पठाएको छ ।

तर जब एन्फाका उपाध्यक्ष शाही आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगे उनले थाहा पाए कि फिफा कंग्रेसका लागि पठाइएको उनको नाम हटाइएको रहेछ । शाहीले एन्फा अध्यक्ष नेम्वाङले आफ्नो नाम हटाएर पनि समयमा जानकारी नगराइ आफ्नो वेइज्जत गरेको आरोप लगाएका छन् ।

‘करिब ४० वर्ष इमान्दारीपूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापत आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनुपर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद,’ शाहीले एक विज्ञप्तिमार्फत जनाए ।

शाहीले आफ्नो नाममा टिकट र भिसा पनि आएको तथा फिफा प्रतिनिधिको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको बताउँदै उनले आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएको जानकारी गराए ।

यससँगै एन्फाको आन्तरिक राजनीतिक किचलो विश्व फुटबलको सर्वाेच्च निकायसम्म मुछिएको छ । फिफाको ७३औँ कंग्रेस रुवान्डामा बिहीबार आयोजना हुँदै छ । ‘आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएँ । चेकिङ काउन्टरमा गएपछि थाहा पाएँ, मेरो नाम त हटाइसकेको रहेछ,’ शाहीले नयाँ पत्रिकासँग भने, ‘किन र कसरी मेरो नाम हटाइयो भन्ने विषयमा जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्