२९ फागुन, काठमाडौं। राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारीको सात वर्षे बढी कार्यकाल गएरातिबाट सकिएको छ । कार्यकाल सकिए पनि अझै राष्ट्रपति कार्यालय शितल निवासमै रहेकी विद्या नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गरेपछि यहाँबाट छाड्ने छिन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुनः २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् ।
भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन्, तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिला पनि हुन ।