२९ फागुन, काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिदैंछन् । आज दिउँसो १ बजे पौडेलले शपथ लिने कार्यक्रम रहेको छ ।शपथ लिएपछि आजैदेखि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिबाट पौडेलले आइतबार राजीनामा गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् उनी गत बिहीबार नौ दलको सहयोगमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ३३ हजार ८ सय २ मतभार प्राप्त गरी विजयी भएका हुन् ।
पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । शपथ ग्रहण पछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।